FAQs Complain Problems

शिक्षाको गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकास्तरीय अन्तरक्रिया

मेन्छयायेम गाउँपालिकामा शिक्षाको गुणस्तर अभिवृद्धिको लागि सामूदायिक तथा संस्थागत विद्यालयहरूबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । माध्यामिक तहसम्मको शिक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा स्थानीय तहमा आएपछि गाउँ कार्यपालिकाले गाउँभित्र शिक्षाको व्यवस्थापन तथा नियमावली निर्माणका सन्दर्भमा सामूदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रध्यानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । 
अन्तरक्रिया कार्यक्रममा शैक्षिक सुधार गरी गुणस्तरीय शिक्षणका बारेमा केन्द्रीत भएको मेन्छयायेम गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ६ का अध्यक्ष प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो । उहाँले अन्तरक्रिया कार्यक्रमले गाउँपालिका भित्र रहेका सामूदायिक विद्यालयमा शैक्षिक सुधार र शैक्षिक एकरूपता कायम गर्ने कुरामा जोड दिएको जानकारी दिनुभयो ।
गाउँपालिकामा सामुदायिकतर्फ २१ वटा विद्यालय रहेका छन् । अन्तरक्रिया कार्यक्रममा उपस्थित प्रध्यानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरूले गाउँपालिकाले विद्यालयको नियमित अनुगमनको आवश्यकता औल्याएका थिए । मेन्छयायेम गाउँपालिकाका स्रोत व्यक्ति लक्ष्मी दुललाले शिक्षा कार्यविधि पारित भएको, शिक्षामा पालिकास्तरबाट बजेट सार्वजनिक भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा स्थानीय तहामा शिक्षा शाखा, कर्मचारीको व्यवस्था र नयाँ प्रविधिबाट शिक्षा अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँपालिकाले दीर्घकालिन योजना बनाएर शिक्षा क्षेत्रको सुधारका लागि अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । यस्तै, नेपाल शिक्षक संगठन जिल्ला शाखाका अध्यक्ष विष्णुकुमार खापुङले शिक्षाको गुणस्तरका लागि विभिन्न जीवनोपयोगी सीप हाँसिल गराउनेमा उद्दत हुनुपर्ने धारणा राख्नुभयो । उहाँले शिशु स्यार केन्द्र, शैक्षिक सामग्री खरिद तथा अतिरिक्त क्रियाकलापमा गाउँपालिकाले बजेट विनियोजन गरेमा स्वागतयोग्य भन्दै गाउँपालिकाले आगामी दिनमा शिक्षक तालिम, सफ्टवेयरको अनुसरण गर्ने तालिम, विद्यार्थीको प्रोफाइल निर्माणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

कालिका आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रप्रसाद भण्डारीले नेपालको व्यवस्था परिवर्तन भएपनि शिक्षा क्षेत्रमा पुरानै शिक्षण प्रणाली रहेकोमा दुःख व्यक्त गर्नुपर्ने । उहाँले नयाँ शिक्षा ऐन आएपनि विधि र प्रक्रिया परिवर्तन नहुँदा शिक्षा समयसापेक्ष हुन नसकेको धारणा राख्नुभयो । उहाँले विद्यालयको अनुगमन गाउँपालिकास्तरबाटै भएमा विद्यालयको गुणस्तर अभिवृद्धि हुने बताउँदै नियमन र अनुगमन चुस्त दुरूस्त नभएमा झनै खस्कने धारणा राख्नुभयो । कार्यक्रममा पञ्चकन्या व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ खतविडाले शिक्षामा राज्यले ठूलै लगानी तथा शिक्षकलाई सुविधा दिएपनि शिक्षाको गुणस्तर खस्कँदो रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । यस्तै, जनप्रिय मावि पौठाकका प्रधानाध्यापक डेनुप्रसाद गौतमले शिक्षकहरू टेक्नीक जानेपनि ट्रेडिसनल भएका कारण समस्या रहेको औल्याउनुभयो । उहाँले शिक्षणप्रति वफदार शिक्षकलाई पुरस्कार र अनुदार शिक्षकलाई दण्डाको आवश्यकता रहेको धारणा राख्नुभयो । उहाँले गाउँपालिलकास्तरबाट शिक्षा क्षेत्रमा भएको गल्ती कमजोरीलाई औल्याउनुपर्नेमा जोड दिनुभयो । यस्तै, गौखुरी माध्यामिक विद्यालयका प्रधानाध्यापक विश्वराज खापुङ्गले गुणस्तरको मापदण्ड कसरी, कस्तो र कितमा गर्ने भन्नेमा जिज्ञासा राख्नुभयो । उहाँले शिक्षाको गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थी सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । उहाँले शिक्षा नीति नै माटो सुहाउँदो छ छैन, यहाँबाट उत्पादित जनशक्तिले कस्तो काम गर्ने भन्ने निर्धारण विद्यार्थीको क्षमताअनुसार हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा असिने आधारभूत विद्यालयका प्रध्यानाध्यापक बुद्धिबहादुर भण्डारी, जाँते आधारभूत विद्यालयका प्रध्यानाध्यापक गणेशकुमार गौतम, सिद्धेश्वर माविका शिक्षक परशुराम दुलाल, जनकन्या आधारभूत विद्यालयका प्रध्यानाध्यापक काशिनाथ भण्डारी, सिंहदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक टोमप्रसाद दाहाल, जनप्रिय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्र पन्धाक, लक्ष्मी प्राविका प्रधानाध्यापक भीमा तामाङ खापुङलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङले शिक्षाको सुधारका लागि आफू कटिबद्ध भएको बताउनुभयो । उहाँले विद्यालयलाई जारिको थलो मात्र नबनाउन र शिक्षामा हुनुपर्ने गुणस्तरीय काम गर्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवदीप राईले गाउँपालिकाको तर्फबाट शिक्षाको सुधारका लागि शिक्षा शाखाको व्यवस्था, सूचना प्रविधिसम्बन्धि तालिम तथा छुट्टै कार्यदल बनाएर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा ६ वटै वडाका वडा अध्यक्षहरूले आ–आफ्नो धारणा राखेका थिए । गाउँपालिकाका देवन्द्र बस्नेतले सञ्चालन गर्नुभएको थियो ।

आर्थिक वर्ष: