FAQs Complain Problems

मेन्छयायेम गाउँपालिकामा तालिमै तालिम

मेन्छयायेम गाउँपालिका वडा नं. ४ की हिमकला बस्नेतले व्यवसायिक तरकारी खेतीबाट आम्दानी गर्ने माध्यम खोजिरहेकी थिइन् । गाउँपालिकाको आयोजना तथा दलित सचेतना समाज नेपाल तेह्रथुमको साझेदारीमा तरकारी खेतीसम्बन्धि १५ दिने तालिम पाएपछि उनी दंग छिन् । उता मेन्छयायेम गाउँपालिका वडा नं. ५ का विनोद भट्टराईले घरमै बसेर आम्दानी गर्ने माध्यम खोजिरहेका थिए । उनले गाउँपालिकाको आयोजना तथा दलित सचेतना समाज नेपाल तेह्रथुमको साझेदारीमा आयोजित मुढा बुन्ने तालिम पाए । १ महिने बाँसको मुढा बनाउने तालिमका प्रशिक्षक मिलन कार्की डोलीले १० जना सहभागीहरूलाई बाँसको मुढा बनाउने तालिम प्रदान गर्दै आएका छन् । उता, मेन्छयायेम गाउँपालिका ४ की सुकरानी लिम्बूको सिलाइबुनाई तालिम लिएर घरमै व्यवसाय गर्ने धोको पनि पूरा भएको छ । वडा नं. ५ र ६ को आयोजनामा दुई महिने आधारभूत सिलाईकटाई तालिममा उनी सहभागी छिन् । उक्त तालिममा उनीसँगै २० जना प्रशिक्षार्थी सहभागी छन् ।

तरकारी खेती, सिलाई कटाइ, मुढा बन्ने तालिमजस्तै मेन्छयायेम गाउँपालिकाले चालू आर्थिक वर्ष उद्यमशीलता वृद्धिका लागि युवायुवतीलाई लक्षित गरी रूचीअनुसारको तालिम सञ्चालन गरेको छ । गाउँपालिकाको ६ वटै वडामा चरणवद्ध रूपमा विभिन्न खालका सीपमूलक तालिम सञ्चालन भइरहेका छन् । गाउँपालिका कार्यालयले मात्र होइन, विषयत शाखाले पनि आत्मनिर्भर बनाउने तालिम सञ्चालन गर्दै आएको छ । पशु सेवा शाखाले बंगुरपालन, कुखुरा, बाख्रापालनसम्बन्धि सेवा केन्द्र स्तरीय तालिम सञ्चालन गरेको पशु सेवा शाखाका प्रमुख श्याम कट्वालले जानकारी दिनुभयो । तालिममा सहभागी ८० जनाले तालिमबाट प्राप्त भएको सीपबाट आफू साथै पशुजन्य पदार्थमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन सकिने बताएका थिए । 

मेन्छयायेम गाउँपालिका ५ र ६ नं. वडाको आयोजनामा कम्प्यूटर बेसिक तथा आइटी तालिम, गाउँपालिका स्तरीय स्वीटर बन्ने तालिम, वडा नं. ३ र ४ मा तरकारी खेतीसम्बन्धि तालिम र वडा नं. १, २ मा बेद बाँस फर्निचर तालिम, ५ र ६ नं. वडामा मुढा बन्ने तालिम, गाउँपालिकास्तरीय सिलाई कटाइसम्बन्धि तालिम गरी कूल ७ वटा तालिम सञ्चालन भइरहेका छन् । कम्प्यूटर बेसिक तालिममा ६० जना, बेद बाँस फर्निचर तालिममा १० जना, मुढा बन्ने तालिममा १० जना, तरकारी खेतीसम्बन्धि तालिममा १० जना, स्वीटर बन्ने तालिममा १२ जना, सिलाई कटाइ तालिममा २४ जना गरी जम्मा १ सय २६ जनाले तालिम लिइरहेका छन् ।  

‘मैले कम्प्यूटर सिक्न खोजेको दुई वर्ष भयो,’ मेन्छयायेम गाउँपालिका वडा नं. ५ का सुरज ढकालले भने, ‘अहिले गाउँपालिकाले पुरा गरिदिएकोमा खुसी लागेको छ ।’ गाउँपालिकाले युवाहरूको क्षमता लक्षित तालिम सञ्चालन गर्दै आएपछि ढकालजस्तै धेरैजसो युवा पुस्तामा उत्साह छाएको छ । 

तालिममा हरेक वडाका युवाको सहभागिता रहेको गाउँपालिकाका प्रवक्ता प्रदीप बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले चालू र आगामी वर्ष घरघरै उद्यमी तयार गर्ने योजना बनाइएको छ । ‘हातमा सीप भएको मान्छे कोही भोकै मर्नु पर्दैन,’ उहाँले भन्नुभयो, ‘अब कुनै परिवारको युवा सीपविहीन हुनुपर्दैन ।’ नगरपालिकाले घरघरै उद्यमी तयार गर्न बजेट अभाव नहुने प्रमुख प्रशासकीय अधिकृत नवदीप राईले बताउनुभयो । ‘लक्षित प्रगतिका आधारमा अर्को वर्ष बजेट थप गर्ने योजना छ’, उहाँले भन्नुभयो ।
 

आर्थिक वर्ष: