समाचार
मेलमिलाप सम्बन्धी पुनर्ताजकी तालिम सम्पन्न
मेन्छयायेम गाउँपालिका न्यायिक समितिको आयोजना तथा मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा मेलमिलाप सम्बन्धि तीन दिवसीय पुनर्ताजकी तालिम शुक्रबार सम्पन्न भएको छ ।
मेन्छयायेम गाउँपालिका ५ स्थित सभाहलमा फाल्गुण १४ देखि १६ गतेसम्म तालिम सञ्चालन भएको थियो । ६ वटै वडाका ३५ जना मेलमिलापकर्ताहरूको सहभागिता रहेको तालिमको सहजीकरण याम माबो लिम्बू र सन्तोष मगरले गर्नुभएको थियो ।
शुक्रबार सम्पन्न तालिमको समापनका अवसरमा गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक गीतादेवि तिम्सिना गौतमले न्याय सम्पादनको क्षेत्रमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले मेलमिलापका लागि मेलमिलापकर्तालाई थप सीपको जानकारीसँगै उपलब्ध कानुनी विधि तथा प्रक्रियाको बारेमा जानकारी दिन आवश्यक भएकाले पुनर्ताजकी तालिम सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।
सोही अवसरमा महिला अधिकार मञ्च मेन्छयायेम गाउँपालिका अध्यक्ष भीममाया तामाङ खापुङ्गले सामाजिक न्याय र शान्तिका लागि मेलमिलापले सामुदायमा शान्ति स्थापनामा सहयोग पुगेको बताउनुभयो । उहाँले विवाद व्यवस्थापनमा सबै नागरिकको पहुँचमा सहयोग पुग्दै गएको अनुभव समेत राख्नुभयो ।
यस्तै तालिममा सहभागी सुनिता शर्मा गौतम र कुमार लिम्बूले मेलमिलापकर्ताको सीपलाई दिगो रूपमा कार्यान्वयन गर्न नीतिगत रूपमा व्यवहारमा रूपान्तरण गर्न सरोकारवालाले सहयोग गर्नु पर्ने बताउनुभयो ।
तालिममा मेलमिलापको चरण, कानुनी, प्रकृया, सञ्चार सीप, विवाद विश्लेषण, मेलमिलापकर्ताको गुण, दायित्वको बारेमा जनकारी गराइएको गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्र राईले जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक गौतमको अध्यक्षतामा भएको समापन कार्यक्रममा न्यायिक समिति सदस्य पुष्पादेवि गौतमको आतिथ्यता रहेको थियो ।